Showing posts with label Statistics. Show all posts
Showing posts with label Statistics. Show all posts

Saturday, November 8, 2014

खुमबहादुर, धर्मको राजनीति गर्नु अघि तथ्यांक त सही बोल!

तस्वीर: सेतोपाटि.कम 
कहिलेकाँहीं म नेपालमा तथ्यांकको प्रयोगको दूर्दशा देखेर हैरान हुनेगर्छु। भर्खरै भ्रस्टाचारको मुद्दा खेपेर राजनीतिमा फर्कने ठाउँ खोज्दै गरेका नेपाली कांग्रेसका नेता खुमबहादुर खडकाले प्रयोग गरेको तथ्यांक देख्दा भने म नलेखी बस्नै सकिन।
हाम्रा नेताज्यूहरु तथ्यांकको मनपरी प्रयोग गर्नुहुन्छ, यो भर्खरैको घटना एउटा ज्वलन्त उदाहरण मात्र हो।
सेतोपाटीको साउण्ड क्लाउडमा भएको अडियो रेकर्डको ५ औं मिनेटमा नेता खड्काले प्रयोग गरेको तथ्यांक आंशिक रूपमा सहि छैन। उनले भने जस्तो नेपालमा हिन्दु धर्मावलम्बीको जनसंख्या ९४ प्रतिशत नभई ८१.३४ छ। 
हिन्दु धर्मको आडमा धेरै अघिदेखि राजनीति गर्दै आएका राप्रपा-नेपालका नेता कमल थापाले पनि ९४ प्रतिशत नेपालीको हिन्दु धर्म भनेको मैले सुनेको छु। थापाकै पदचाँप पछ्याएका खड्काले सायद धर्मको तथ्यांक पनि उनीबाटै लिएका होलान। धर्मको नाममा राजनीति गर्नेले पहिले तथ्यांक त सहि बोलुन्।  कम्तिमा त्यति धर्म त नछोडुन्। 
केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको राष्ट्रिय जनगणना २०६८ को नतिजामा प्रस्ट उल्लेख गरिएको कुरा हो। सोहि प्रतिवेदनको पृष्ठ ४ पढे पनि नेपालमा कुन धर्ममा आस्था भएका व्यक्ति कति छन भन्ने स्पस्ट हुन्छ र सोहि प्रतिवेदनको पृष्ठ १४४ मा विस्तृत रूपमा तथ्यांक प्रस्तुत गरिएको छ।
यदि उनको ज्ञान अलि पुरानो भयो होला सायद २०५८ को तथ्यांक पो सम्झिए कि भन्दा समेत हिन्दु धर्मावलम्बीको जनसंख्या ८१.०८ मात्रै छ।
सार्वजनिक स्थानमा सार्वजनिक महत्वको र रास्ट्रिय राजनीतिमा तरंग ल्याउने मुद्दाको तथ्यांकीय आधार नै गलत छ। म तथ्यांक केलाउने तथ्यांककार होइन र मलाई यहाँ मेरो ज्ञान प्रस्तुत गर्न मन लागेको पनि होइन।
यो देशको सामान्य र सचेत नागरिकको हैसियतले म केन्द्रीय तथ्यांक विभागको धर्म सम्बन्धि तथ्यांक यहाँ प्रस्तुत गर्दैछु ता कि खड्काजस्ता कुनै नेता फेरि आएर सम्पूर्ण जनतालाई उल्लु बनाउन नसकुन।
२०६८ को जनगणनामा १० धर्महरुको रिपोर्ट गरिएको छ। जस बमोजिम कुल जनसंख्याको ८१.३ प्रतिशतले हिन्दु धर्म मान्छन भने, ९ प्रतिशत बौद्ध धर्म, ४.४ प्रतिशतले इस्लाम, ३.१ प्रतिशतले किराँत, १.४ प्रतिशतले इसाई, ०.५ प्रतिशतले प्रकृति धर्म मान्ने गरेका छन भने बोन, जैन, सिख, बहाई धर्मावलम्वीहरुको प्रतिशत न्यून रहेको छ।
  
कुरा यहाँ तथ्यांकको मात्रै छैन। कुरा यहाँ कस्ता व्यक्तिहरुले कस्तो मुद्दाको उठान गर्दै छन् भन्ने हो। जुन व्यक्तिलाई आफूले उठान गर्न लागेको मुद्दाका वा समुदाय कति छन भन्ने थाहा छैन ती व्यक्तिले कसरी त्यो समुदाय र जनसंख्याको उचित नेतृत्व गर्न सक्छन भन्ने पनि हो।
राजनीतिका नाममा गलत तथ्यांक प्रस्तुत गरेर मुद्दा उठान गर्नु आफैँमा एक बेइमानी हो। त्यसमाथि नेतृत्व भनेको सर्व स्वीकार्य हुनुपर्छ।
यहाँ बुझ्नुपर्ने कुरा के छ भने खुमबहादुर खड्काले आफूलाई रास्ट्रको नेताको रूपमा उभ्याउन खोज्दै छैनन्। उनले आफूलाई केवल एक धर्मको नेताका रूपमा उभ्याउन खोजेका छन्।
यदि उनलाई यस मुद्दाले धेरै सताउदो हो त उनले आफ्नै पार्टी नेपाली कांग्रेस भित्र यसको बहस गर्न सक्थे, पार्टी नेतृत्वलाई दवाव दिन सक्थे। तर, त्यसको विपरित उनि पार्टीभित्रका बिभिन्न कारणले असन्तुस्ट पक्षसँग मिलेर पार्टी बाहिर धर्मको विषय उठाउदै हिडेका छन्।
राजनीति प्रति चरम आशक्ति भएको एउटा व्यक्तिले आफ्नो आशक्ति लुकाउन नसकेको कुरा उदांगो भएको छ यति बेला। 
भ्रस्टाचारका कारण मुलधारको राजनीतिमा पुनः आउन निकै कठिनाई हुनु, नेपाली कांग्रेस पार्टी भित्र विस्तारै आफ्नो प्रभाव कम हुदै जानु, तथा विगतका चुनावमा हार्नुले कम हुँदै गरेको आफ्नो राजनैतिक शक्तिलाई पुनः प्राप्त गर्ने मौकाका रूपमा यस मुद्दालाई खड्काले हेरेका होलान्।
खड्का एक कुशल राजनैतिक खेलाडी हुन् र उनले राजनीतिमा पुनरागमन गर्ने उपायका रूपमा यस मुद्दालाई छानेको हुनुपर्छ। आखिर यो मुद्दाले उनलाई कहिँ नपुर्‍याए पनि उनलाई घाटा त केहि छैन। एक पटक बाजी मारी हेर्ने, दाउ परे ठिकै छ नत्र नोक्सानी त केहि छैन उनलाई।
यस मुद्दाले खड्कालाई कहाँ पुर्‍याउने हो त्यो त समयले भन्ला तर, उनले उठान गरेको मुद्दालाई जनताले संबिधानसभाको चुनावमा हराएको सर्व विदितै छ।
जो व्यक्तिसँग केहि छ उसलाई केहि गुमाउने डर हुन्छ तर जो व्यक्तिसँग अब गुमाउन बाँकी केहि छैन त्यो व्यक्तिले केहि गुमाउन सक्दैन तर आफूले पहिले गुमाएको कुरा प्राप्त गर्न जे पनि गर्न सक्छ।
हिन्दु धर्मका नाममा राजनीति गर्नुको साटो हिन्दु धर्मका नाममा स्वच्छ मनले समाजसेवामा लाग्दा खड्का जस्ता नेतालाई जनताले पत्याउने थिए र बिगतमा केहि पाप गरेको भए पुण्य समेत मिल्ने थियो।
यति बेला कसैले केहि अतिवादी सोच ल्याएर संक्रमणकालीन अवस्थाको फाइदा लिन खोज्छ भने त्यसको प्रतिकार सचेत नागरिकहरुको दायित्व हो आवश्यक पर्दा गर्नुपर्छ।

म न कुनै धर्मको समर्थक वा कुनै धर्मको विरोधी हो। म विरोधी हुँ भने केवल त्यो सोचको जसले देशमा एकै बोल्ने, एकै धर्म मान्ने, एकै देखिने व्यक्ति हुनुपर्छ भनी सोच्छन्।